काठमाडौं – रेखा थापा स्टारर ‘उपहार स् द जर्नी लाइफ’ले पहिलो अन्तर्राष्ट्रिय रिलिजको यात्रा अमेरिकाको कोलोराडोबाट थालेको छ । घरमा दोस्रो सातामा चलिरहेको फिल्मले डायस्पोरा प्रदर्शनको थालनी गरेको हो ।

कोलोराडो प्रदर्शनमा दर्शकको ‘ओभरफ्लो’ भएको निर्मात्री समेत रहेकी रेखाले जानकारी दिइन् । दर्शकको मागको कारण सोमबार अर्को शोको आयोजना गरिएको कार्यकारी निर्माता बलराम ठकुरीले जनाए ।

अन्य अमेरिकी राज्यबाट पनि फिल्मको माग भएको उनले बताए । ‘बेबी प्लान’सहित अमेरिका उडेकी रेखाले गत महिना त्यहाँ सन्तानलाई जन्म दिएकी थिइन् । उनकै अग्रसरतामा कोलोराडोमा फिल्म रिलिज गरिएको हो ।

यो फिल्म यतिबेला नेपालमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ । फिल्ममा रेखाको शीर्ष भूमिका छ, जहाँ उनले सडक व्यवसायीको भूमिका निर्वाह गरेकी छिन् । सडक किनारमा व्यवसाय गर्नेको कथावस्तुमा बनेको यो फिल्मले घरमा सन्तोषजनक कमाइ गरिरहेको वितरक छविराज ओझाले जनाए ।