काठमाडौं – अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्म ‘एक्टर’मा अनुबन्धित भएकी छन् । बिहीबार काठमाडौंमा निर्मातासँग दिव्याको तर्फबाट उनका अभिभावक दिलीप र उनकी पत्नी मञ्जुले हस्ताक्षर गरे ।

दिव्या भने अमेरिकामा अध्ययनरत छिन् । यो फिल्ममा यसअघि प्रदीप खड्का, आना शर्मा र राजबल्लभ कोइराला समेत अनुबन्धित भइसकेका छन् । वैशाखदेखि छायांकन सुरु हुने यो फिल्मको प्रदर्शन कात्तिक १५ गते हुने जनाइएको छ ।

निर्माताले बिहीबार टिजर पोस्टर सार्वजनिक गर्दै फिल्मलाई उक्त मितिमा ल्याउने घोषणा समेत गरेका छन् । केही दिनमा सुरु हुने फिल्मको कार्यशालामा दिव्याले पनि सहभागिता जनाउने भएकी छन् । यो फिल्मलाई राजन भुसालले निर्देशन र थमन भण्डारीले निर्माण गर्दैछन् ।