काठमाडौं – शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको सोसल-ड्रामा फिल्म ‘दयारानी’को अग्रिम टिकट बिक्री खुला भएको छ । माओत्से गुरुङ निर्देशित फिल्मले देशव्यापी ११३ शो प्राप्त गरेको छ ।

पोखरा प्रिमियर गरिसकेको फिल्मले बिहीबार काठमाडौं प्रिमियर गर्दैछ । निर्देशक गुरुङले पोखराबाट प्राप्त प्रतिक्रियाले दर्शक हलमा आउन सक्ने विश्वास व्यक्त गरे । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौं उपत्यका र अन्य सहरमा गरी ३६ शो उपलब्ध गराएको छ ।

आईएनआईले १२, बिग मुभिजले ६, वान सिनेमाजले नौ शो दिएका छन् । रञ्जना, सीके, बीएसआर, सीडीसी र क्युज हलले पनि सोही अनुपातमा शो विभाजन गरेका छन् । दयारानीको नेपालमा मात्र नभई सोही दिन अमेरिका रिलिज हुनेछ भने अष्ट्रेलियामा नेपालभन्दा एक दिन अगाडि रिलिज हुनेछ । दुवै देशमा फिल्मको ४०० शो तय भएको जनाइएको छ ।

रामबाबु गुरुङको बाँसुरी र माओत्से फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन् । फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टीकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सूर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र कृष्टि गुरुङको अभिनय छ ।