गोरखा – जिल्लाका एघार स्थानीय तहमध्ये गोरखा नगरपालिका निर्धारित समयमा नगर सभा गर्न असफल भएको छ । पुस महिनाभित्र नगर सभा गरिसक्नुपर्ने भएपनि नगर प्रमुख कृष्ण रानामगरले हालसम्म नगरसभाको आह्वान रगेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि (ऐन) २०७५ मा एउटा सभा सम्पन्न भएको मितिले ६ महिनाभित्र अर्को सभा गर्नुपर्ने प्रावधान छ ।

सोही अनुसार गत असारमा बर्षे अधिवेशन गरेको नगरपालिकाले पुस महिनामा नगर सभा अधिवेशन गर्नुपर्ने हो, तर हुन सकेको छैन ।

मेयर रानाले हालसम्म नगर सभाको आह्वान नगरेको भन्दै उपप्रमुख मसलीमाया थोकरले असन्तुष्टि जनाइन् । ‘मेयरसाबले आह्वान नै नगरेकाले नगरसभा हुन नसकेको हो’, उनले भनिन्, ‘उहाँ बहुमत कार्यपालिका सदस्यको अस्तित्व स्वीकार्न सक्नुहुन्न । सबैसंग समन्वय र सहकार्य गर्नुपर्छ भन्ने मानसिकता नहुँदा उहाँ कार्यपालिका बैठक डाक्न पनि सक्नुहुन्न, नगरसभा आह्वान गर्न पनि सक्नुहुन्न ।’

नगरसभा नहुँदा धेरै कामहरु प्रभावित बनेको उपप्रमुख थोकरले बताइन् । नगर सभाको अधिवेशन बोलाउन माग गर्दै उनीसहित ४३ जना नगर सभा सदस्यहरुले मेयरको ध्यानाकर्षण गराएका छन् ।

सोमबार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले नगर सभाको बैठकबाट निर्णय गरी सम्पादन गर्नुपर्ने कामहरु सभा नभएकै कारण प्रभावित भएको बताएका छन् ।