काठमाडौं – आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहने फिल्म ‘पूजार सार्की’को शीर्ष गीतमा प्रकाश सपुत र शान्तिश्री परियारले स्वर दिएका छन् ।
यी दुई गायकले शनिबार गीत रेकर्ड गरे । निर्देशक दिनेश राउतले प्रकाश र शान्तिश्रीसँगको तस्वीर सेयर गर्दै गीत रेकर्ड भएको जनाएका छन् । लोकशैलीमा तयार हुँदै गरेको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र हेमन्त कान्छा रसाइलीको एरेन्ज छ ।
फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बू मुख्य अभिनेत्री हुन् । बराइलीले यसअघि ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परीक्षाले ‘जारी’ र ‘छक्कापञ्जा ४’ मा अभिनय गरेकी छन् ।
माघ मध्यबाट छायांकन सुरु हुने यो फिल्मलाई विकास सुवेदीले लेखेका छन् । संगीतकार समेत रहेका सुवास भुसालले फिल्म निर्माण गर्दैछन् । दर्जन फिल्ममा संगीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् ।










