काठमाडौं – महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

रातिको कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ र पुरुषहरु बस चढाएर इटहरी नै फर्काइदिने कुरा गरेको सुनिन्छ ।

भिडियो सेयर गर्नेहरुले युवा संघले राति सुतिरहेका महिलाहरुलाई दुर्व्यवहार गरेको लेखेका छन् । तर युवा संघले भने त्यसको खण्डन गरेको छ ।

युवा संघका प्रवक्ता निरोज पौड्यालले आफूहरुभित्र पनि मानवता रहेको भन्दै यस्तो खालको अराजकता युवासंघले नगर्ने बताएका छन् । ‘हामी आफैं अराजकताविरुद्धको अभियानमा छौं, यो खालको अराजक काम हामीबाट हुँदैन,’ उनले भने ।

भिडियोमा के छ ?

राति खिचिएको भिडियोमा एउटा हलमा भुइँमा ओछ्यान लगाएर बसेका महिलाहरु देखिन्छन् । एक जना पुरुषले ‘हेलो दिदीहरु, सात गतेको कार्यक्रममा आउनु भएको हो ?’ भनेर सोध्छन् ।

अर्का एक पुरुषले ‘छिटो गइहाल्नुस्’ भन्छन् ।

त्यसको जवाफमा एक महिलाले ‘हामी जान्छौं हो जान्छौं, लुगा लगाउन दिनुस् न हामीलाई’ भन्छिन् ।

फेरि एक पुरुषले ‘तपाईंहरु सात गतेको कार्यक्रममा आउनु भएको होइन ? ल ठिक छ तपाईंहरु उठिहाल्नुस् त’ भनेको सुनिन्छ । उनी ‘छिटो-छिटो गर्नुस् न’ भन्दै अत्याउँछन् ।

अर्का एक जनाले भने ‘लुगा लगाउन १० मिनेट टाइम दिएको’ भन्छन् ।

ती महिलाहरु आफ्नो स्थानबाट उठ्छन् र झोला बोकेर कोठाबाट बाहिर निस्किन सुरु गर्छन् ।

भिडियो हेर्दा महिलाहरु एक तला माथिको हल कोठामा बसेको जस्तो देखिन्छ र एक पुरुषले फेरि ‘ए दिदी झर्नुस्, फास्ट’ भन्छन् ।

भिडियोमा एक पुरुषले ‘तपाईंहरु कुन जिल्लाबाट आउनु भएको ?’ भनेर प्रश्न गर्छन् । महिलाहरुले त्यसको उत्तर दिएको सुनिँदैन । अर्का पुरुषले नै ‘इटहरीबाट अरे’ भनेर आफैं उत्तर दिन्छन् ।

‘ए इटहरी १’ भन्दै पुरुषहरु उनीहरुलाई बस चढाएर इटहरी नै फर्काइदिने कुरा गर्छन् ।

एक महिलाले आजको रात यहीँ बस्न दिन आग्रह गरेको सुनिन्छ । पुरुषहरु भने ‘हुँदैन हुँदैन’ भन्छन् ।

ती पुरुषहरुले दुर्गा प्रसाईंको नाम लिँदै युट्युबमा कुर्लिएजस्तो नहुने बताएको पनि सुनिन्छ ।

करिब साढे तीन मिनेटको भिडियोको अन्तिममा महिलाहरु आफ्ना झोला बोकेर सडकमा हिँडिरहेको देखिन्छ र पुरुषहरुले दुर्गा प्रसाईंले पार्टी प्यालेसमा अलपत्र पारेको भनेको सुनिन्छ ।

यो भिडियो कहाँको हो भन्ने खुलेको छैन । कसैले कोटेश्वरको एक पार्टी प्यालेसको हो भनेका छन् भने कसैले चाबहिल वा भक्तपुरको हुन सक्ने बताएका छन् ।

दुर्गा प्रसाईंका समर्थकहरुले महिलाहरुलाई रातिको समयमा लखेट्ने काम युवा संघले गरेको भन्दै आलोचना गरिरहेका छन् । तर युवा संघले त्यसलाई नकारेको छ । स्रोत : अनलाइनखबर