हान्झाउ – माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा आइतबार भएको समूह ए को दोस्रो खेलमा माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपालले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

नेपालले अब क्वाटरफाइनलमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानमध्ये एक टिमसँग खेल्नेछ । यी पाँच टिम सीधै क्वाटरफाइनल पुगेका हुन् भने नेपालसँगै तीन टिम पहिलो चरण पार गरेर क्वाटरफाइनल पुग्नेछन् ।

नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स १९.४ ओभरमा ७४ रनमै अलआउट भयो । माल्दिभ्सका लागि मुएवियाथ अब्दुल घानीले सर्वाधिक ३६ र सिउस फरिदले १० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

माल्दिभ्सलाई अलआउट गर्न नेपालका फास्ट बलर अभिनाश बोहराले सानदार बलिङ गर्दै ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिए ।

टी-२० अन्तर्राष्ट्रियमा एकै खेलमा ६ विकेट लिने अभिनाश पहिलो नेपाली बलरसमेत बनेका छन् । यसअघि नेपालका सन्दीप लामिछाने र करण केसीले एकै खेलमा समान ५ विकेट लिएका थिए ।