काठमाडौं – काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ ।

गैह्रीगाउँको दिव्य सस्मिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

उनका अनुसार चारै जना सोही सस्मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।

हत्या भएका चारै जनाको शव त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि आज बिहानै शिक्षण अस्पताल पठाएको हो ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।