काठमाडौं – राजनीतिक कथावस्तुका फिल्मप्रति निर्माता आकर्षित हुन थालेका छन् । प्रायः फिल्मको केन्द्रमा राजनीतिक दाउपेच चित्रण हुन्छ । तर ‘नांगो गाउँ’ले भने नेतालाई होइन, नेतालाई चुन्ने जनतालाई प्रश्न गर्छ ।

अघिल्लो फिल्म ‘छ माया छपक्कै’मा खानेपानीलाई लिएर दुई गाउँबीच हुने झगडा प्रस्तुत गरेका निर्देशक दीपेन्द्र लामाले पछिल्लो फिल्ममा भने नागरिकमाथि प्रश्न तेर्स्याएका छन् । ‘निर्देशकको रुपमा मैले फिल्ममार्फत असल नेता चयन गर्ने नागरिकको दायित्वप्रति प्रश्न गरेको छु,’ लामाले भने ।

‘नेतामाथि जुन प्रश्न उठाउँदै आएका छौं हामीले अब जनतामाथि किन प्रश्न नउठाउने ? नेता गलत भए तर गलत नेतालाई जिताउने पनि त जनता हुन् । असल नेता चयन गर्ने दायित्व जनतामा हुँदैन रु इमान्दारिता नेतामा पनि चाहिन्छ र जनतामा पनि चाहिन्छ । यो प्रश्न मैले उठाएको छु,’ फिल्मबारे उनले भने, ‘किनभने राजनीतिमा मेरो रुचि छ ।’ ‘नांगो गाउँ’लाई विम्बात्मक रुपमा आफूले पेश गरेको उनले बताए ।

दीपेन्द्रले केही निश्चित उद्देश्य लिएर फिल्म बनाएको तर्क पेश गरे । ‘मलाई पहिल्यैदेखि कथा भन्न मन लागेको थियो । यसमा भयंकरै माइलस्टोन कृति बनाउँछौं भनेर बनाएको होइन । निश्चित मितिमा कथा दिमागमा खेल्यो, त्यसपछि बनेको हो,’ उनले उद्देश्य खुलाए, ‘सकेसम्म निर्माताको लगानी सुरक्षित होस् । दर्शकलाई पनि दुई घण्टा हलभित्र मनोरञ्जन देओस् र फिल्मले दर्शकलाई केही सोच्ने प्रेरणा देओस् भन्ने हो ।’

अभिनेता दयाहाङ राईले पछिल्लो समय बनिरहेका राजनीतिक कथावस्तुका फिल्मभन्दा ‘नांगो गाउँ’ भिन्न रहेको बताए । ‘कबड्डी ३, दिमाग खराब, नांगो गाउँ पनि राजनीतिक पृष्ठभूमिमा बनेका फिल्म हुन् । तर सबैको भन्ने शैली भिन्न छ,’ उनले भने, ‘कबड्डी ३ राजनीतिक पृष्ठभूमिबाट आएका काजी र मैंयाको कथा हो । प्रेम र उनीहरुको सम्बन्ध कहाँसम्म पुग्छ भन्ने कथामा थियो ।’

‘नांगो गाउँ’बारे दयाहाङले भने, ‘नांगो गाउँमा हरेक चरित्रलाई राजनीतिक उथलपुथलले पारेको असरको कथा हो । सबैको पृष्ठभूमि फरक छन् । हामीले नेता ठीक भएनन् भनेर आक्रोश तेर्स्याएका छौं । तर उनीहरुलाई हामीले नै चुनेर पठाएका हौं ।’

गाउँको सन्दर्भमा उनले भने, ‘गाउँ हराउँदै जानुमा पुँजीवादको अतिक्रमण हो । मलाई पनि रहर थियो, म गाउँमा थिएँ, यहाँ आएर बसेको छु । म अहिले त्यहाँ गएर बस्न सक्दिनँ । अर्को कुरा, राजनीतिक उतारचढावको कुराले पनि केही कुरामा फरक पर्छ ।’ दयाहाङले मिरुना मगरसँग एकपछि अर्को फिल्म खेल्नु संयोग मात्र भएको बताए । यी दुईले ‘रंगेली’ र ‘घरज्वाइँ’मा सँगै काम गर्दैछन् ।

‘नांगो गाउँ’को कथा जनताले भोगिआएको कुरा भएको भन्दै मिरुनाले दर्शकले रुचाउने बताइन् । ‘समाजमा एक–एक जना नागरिकले लिने एक्सनले कसरी बृहत प्रभाव पार्छ भन्ने कुरा हो । त्यो प्रभावले घुम्दै फिर्दै कसरी असर पार्छ भन्ने पाएँ । नांगो गाउँको कथा भोगिआएको कुरा हो,’ उनले भनिन् ।

‘नांगो गाउँ’ भदौ २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।