काठमाडौं – सिंहदरबारमा आगो लगाइदिन्छु भनेर अभिव्यक्ति दिएका मेयर बालेन साह अहिले मौन छन् । सामाजिक सन्जालमा उनले मिश्रीत प्रतिक्रियाहरु पाएका छन् । कतिपयले उनलाई समर्थन गरेका छन् भने कतिपयले उनलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।
मेयर साहले गएराति सामाजिक सन्जाल फेसबुकमा सरकारलाई ‘चोर’ भन्दै सिंहदरबारमा ‘आगो लगाइदिन्छु’ भनेर धम्कीयुक्त स्टाटस पोष्ट गरेका थिए । उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ बालेनको यो पोष्टमा ३ लाख बढी लाइक, ९९ हजार कमेन्ट र ३८ हजार सेयर भएको देखिन्छ ।
लगत्तै उनको स्टाटसको स्क्रिनसट भाइरल भएको थियो । केहीले दम्भ देखिएको भनेर आलोचना गरेका छन् भने केहीले आक्रोशपूर्ण अभिव्यक्ति दिनुको कारणबारे जिज्ञासा राखेका छन् । तर यसको कारणबारे बालेन आफैंले केही बताएका छैनन् ।