काठमाडौं – विपिन कार्की, धीरज मगर र सुहाना थापा स्टारर फिल्म ‘एक भगवत् गीता’को छायांकन सकिएको छ । शनिबार कास्कीको धम्पुसमा ६० औं दिनमा इन्ड–कल्याप भएको हो ।
अधिकांश छायांकन कास्की र जनकपुरमा गरिएको थियो । पछिल्लो पटक कास्कीको घाहाचोकमाथिको खुमाइडाँडा र धम्पुसमा छायांकन गरिएको थियो । भदौ २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रदर्शन मिति निकट भएकाले प्रवर्द्धनका लागि निर्मातालाई सकसपूर्ण हुने देखिन्छ ।
‘छायांकन सकिएसँगै अब रिलिजमा केन्द्रित हुनेछौं,’ निर्माता सुनिलकुमार थापाले भने, ‘फिल्मको क्यानभास ठूलो पनि भएको र रिलिजको मिति पनि नजिक भएकाले हतारो र गाह्रो भइरहेको छ ।’ तर पनि फिल्मको निर्माणलाई लिएर आफूहरु उत्साहित रहेको सुनिलले सुनाए ।









