लुम्बिनी – भारतका प्र्रधानमन्त्री नरेन्द्र मोदीसित लुम्बिनीमा भेटवार्ता र बुद्ध जयन्ती समारोह सम्बोधनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ नै यहाँ आएका छन् । उनीसँगै संघीय सरकारका एक दर्जन मन्त्री पनि छन् । आइतबार कुनै औपचारिक कार्यक्रम नभएपछि ‘रात बिताउन’ प्रधानमन्त्री देउवा यहाँ आएको प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्ति आइपुगेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ ।

भारतका प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा यहाँ उत्रिनेछन् । त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम छन् । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।

दुवै मुलुकका प्रधानमन्त्री समारोहमा सहभागी हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । यहाँ आएका सबै सुरक्षा निकाय प्रमुखले आइतबार कार्यक्रम स्थल र आसपासको तयारी अवलोकन गरेका थिए । प्रधानमन्त्री मोदीको भ्रमण र सुरक्षा व्यवस्थापनका लागि भारतबाट ‘स्पेसल प्रोटेक्सन गार्ड’ (एसपीजी) एक साता अघि आएका थिए ।

सुरक्षालाई ध्यान दिएर बुद्ध जयन्ती समारोहमा पाहुनाको प्रवेशलाई कडाइ गरिएको छ । सुरुमा तीन हजारलाई सहभागी गराउने भनिएकामा अहिले संख्या घटाइएको लुम्बिनी विकास कोषले जनाएको छ । समारोह भने पाँच हजार जना अट्ने अन्तर्राष्ट्रिय बौद्ध सभाहल तथा ध्यान केन्द्रमा हुनेछ ।

सभाहललाई चिटिक्क बनाइएको छ । प्रधानमन्त्री मोदी सवार हेलिकोप्टर सोमबार बिहान सभाहलको अगाडि निर्माण गरिएको हेलिप्याडमा उत्रिनेछ । यसअघि नेपाली प्राविधिकले हेलिप्याड निर्माण गरेका थिए । अवलोकनका लागि आएका भारतीय प्राविधिकले चित्त नबुझाएपछि पटक–पटक हेलिप्याड मर्मत गरिएको थियो ।

मायादेवी मन्दिरमा पूजा र भारतीय विहार शिलान्यासपछि प्रधानमन्त्री मोदीले लुम्बिनी नजिकै रहेको पाँचतारे होटल पवन प्यालेसमा गएर विश्राम गर्ने कार्यक्रम छ । त्यहाँ प्रधानमन्त्री देउवाले समकक्षी भारतीय प्रधानमन्त्रीलाई दिवा भोज आयोजना गर्नेछन् । उक्त होटलमै दुवै प्रधानमन्त्रीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षरको कार्यक्रम छ । यसअघि सन् २०१४ डिसेम्बर १० मा प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आउने तय भएको थियो । यहाँ सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा अन्तिम चरणमा उक्त भ्रमण रद्द भएको थियो । यसपटक भ्रमण सफल हुने भएपछि यहाँका पर्यटन व्यवसायी र बौद्ध धर्मावलम्बी लुम्बिनीको प्रवर्द्धन हुने विश्वासले उत्साहित छन् । यहाँ आयोजना गरिने कार्यक्रममा बौद्ध धर्मका प्रमुख भिक्षु, भिक्षुणी र लामा गुरुको सहभागिता रहने भएको छ ।

दुई वर्षपछि चहलपहल

कोरोना महामारीका कारण दुई वर्षपछि यहाँ बुद्ध जयन्ती समारोह हुन लागेको हो । मोदीको भ्रमण पनि यही बेला तय भएपछि श्रद्धालु र पाहुनाको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ मायादेवी मन्दिरमा बौद्ध धर्मावलम्बी र बुद्ध जयन्ती समारोहका निम्तालुको भीड थियो । साँझ मन्दिर परिसरमा पूजा गरिएको थियो । मन्दिरलाई बिजुली बत्ती र फूलमालाले सिँगारिएको छ ।

पर्यटन व्यवसायी हेम विष्टले दुई वर्षपछि लुम्बिनीका सबै होटल पाहुनाले भरिएको जानकारी दिए । यहाँ आइतबार साँझ होटलमा कोठा पाउन मुस्किल भएपछि केही पर्यटक बासका लागि भैरहवा पुगेका थिए । यहाँ बाटोघाटो सफा गरेर सुन्दर बनाइएको छ । उद्यान क्षेत्रमा झिलिमिली बत्ती राखिएको छ । ठाउँ–ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशीलका नयाँ ब्यानर टाँसिएको छ । बाहिरी गेटमा स्वागतद्वार बनाइएको छ । मायादेवी मन्दिर उत्तरको सकुलरलेभीका दुई ठुल्ठूला पोखरी सफा गरेर पानी छाडिएको छ ।

लुम्बिनी र सगरमाथालाई एकसाथ पहिचान गराई पर्यटन प्रवर्द्धन गर्न लुम्बिनीस्थित विश्व शान्तिद्वीपको ज्योति ९पिस फ्लेम० प्रधानमन्त्री देउवाबाट ओलम्पियन बैकुण्ठ मानन्धरलाई हस्तान्तरण गरिने भएको छ । मानन्धरको टोली शान्तिद्वीप ज्योतिसहित मे २८ ९जेठ १४० का दिन सगरमाथा आधार शिविरमा पुग्नेछ । शान्तिद्वीपको ज्योतिलाई मे २९ (सगरमाथा दिवस) का दिन आधार शिविर परिक्रमा गराइनेछ । ‘त्यसपछि विश्वको सबैभन्दा अग्लो स्थानमा तेन्जिङ–हिलारी एभरेस्ट म्याराथन सञ्चालन गरिनेछ,’ लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाडेकाजीले भने ।

सम्मानित महसुस : मोदी

नयाँदिल्ली– लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं भारतीयजस्तै आफू पनि भगवान् बुद्धको पवित्र जन्मस्थल तथा मायादेवी मन्दिरमा पूजाअर्चना गर्न उत्सुक रहेको जनाएका छन् । आइतबार वक्तव्य जारी गर्दै मोदीले बुद्धको जन्मस्थलमा श्रद्धा अर्पणको मौका पाएर सम्मानित महसुस गरिरहेको उल्लेख गरेका छन् । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटका लागि पनि आफू उत्सुक रहेको उनको भनाइ छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी जलविद्युत्, विकास र कनेक्टिभिटीसहित धेरै क्षेत्रमा सहयोग विस्तार गर्न साझा धारणा निर्माणको काम जारी राख्ने छौं ।’

प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । ४ वटा भ्रमण उनले पहिलो कार्यकालमै गरेका थिए । दोस्रो कार्यकालको ३ वर्ष पूरा हुँदै गर्दा उनले नेपाल भ्रमण गर्न लागेका हुन् । यसअघिका भ्रमणमा उनी पूजाअर्चनाका लागि पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ पुगेका थिए । मोदीले लुम्बिनी प्रस्थान गर्नुपूर्व जारी गरेको वक्तव्यमा आफ्नो यात्राको उद्देश्य दुई देशबीच बलियो बनेको सम्बन्धलाई थप प्रगाढ बनाउनु रहेको पनि बताएका छन् । ‘नेपालसँग भारतको अद्वितीय सम्बन्ध छ । सभ्यतागत र दुवै मुलुकका जनताबीचको आपसी सम्पर्कले हाम्रो घनिष्ठ सम्बन्धलाई स्थायित्व प्रदान गरेको छ,’ उनले भनेका छन्, ‘यो सम्बन्धले सदियौंदेखि प्रोत्साहन पाएको छ । हाम्रो आपसी सम्बन्ध लामो इतिहासमा दर्ज भएको छ ।’साभार : कान्तिपुर