गुल्मी – गुल्मीदरबार गाउँपालिकामा १५ शैय्याको अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको वडानम्बर-३ को धुरेलडाँडामा १५ शैय्याको अस्पताल भवन निर्माणको काम भइरहेको छ ।

भवनको अहिले रङ्ग रोगन र सरफाइको काम मात्रै बाँकी रहेको छ । भवन निर्माणको प्रगति ९५ प्रतिशत भएको गुल्मी दरबारगाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद अर्यालले बताए ।

नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यास गरेको थियो । तर, जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।

भवन यही असार मसान्त सम्म निर्माण सक्नुपर्ने मिति रहेको छ । भवनमा लिफ्ट सिस्टमसँगै अत्यधुनिक खालको रहेको छ ।

अहिले गुल्मीदरबार गाउँपालिकामा हाल ४ वटा वडामा वर्थिङ्ग सेन्टर सञ्चालनमा रहेको छ भने २ वडामा सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पालिकामै १५ शैय्याको अस्पताललाई संचालनमा ल्याउने भएको छ ।

त्यसको लागि गाउँपालिकाले २०८०/८१ सालको नीति तथा कार्यक्रममा एम.बी.बी.एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्ने भएको छ ।