काठमाडौं — बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको बीभत्स हत्याको विरोधमा आज चौथो दिन पनि देशभरका धेरै ठाउँमा प्रदर्शन भएको छ ।

आज बारासहित काठमाडौं, पोखरा, बुटवल लगायतका ठाउँमा न्यायको माग गर्दै नागरिकहरू सडकमा निस्किएका हुन् । आज बिहान गृहमन्त्री सुधन गुरुङले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि कडा कारबाही गरिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरे पनि आज प्रदर्शन झनै बढेको छ ।

पछिल्लो जानकारीअनुसार, प्रहरीले यस प्रकरणमा थप ४ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयले अनुसन्धानमा कुनै कसर बाँकी नराखिएको जनाए पनि, नागरिक स्तरबाट खबरदारीस्वरूप प्रदर्शन रोकिएको छैन ।

आज काठमाडौंको माइतीघर मण्डलामा ‘स्वतन्त्र आमा नेपाल’, युवा तथा नागरिक समाजले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । यस्तै नेपाली काँग्रेसले आयोजना गरेको ‘ग्रिन रन’को रि–रनका सहभागीहरूले ‘जस्टिस फर गरिमा’को नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरे । बारामा प्रदर्शनकारीहरूले वीरगञ्ज–पथलैया सडक बन्द गरेका छन् ।

गएको साउन ३१ गते हराएकी बालिका भदौ २ गते एक घरभित्र मृत फेला परेकी थिइन् । दोषीलाई तत्काल हदैसम्मको कारबाही गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ । बालिकाको न्यायका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि दबाब बढाइरहेका छन् ।