काठमाडौं — चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात र निर्यात दुवै बढेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार २ खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

साउनमा आयात ३१.०४ प्रतिशत र निर्यात ६१.७४ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार वैदेशिक व्यापारमा आयातको हिस्सा ८२.८९ र निर्यातको हिस्सा १७.११ प्रतिशत छ । साउनमा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रूपैयाँको वस्तु आयात गर्दा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँको निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा यो साउनमा आयात ३१.०४ र निर्यात ६१.७४ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको साउनमा २३ अर्ब ९३ करोड २४ लाख रूपैयाँको वस्तु निर्यात भएको थियो भने १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।

विभागका अनुसार साउनमा कच्चा भटमासको तेल १८ अर्ब ४० करोड ४२ लाख रुपैयाँ, डिजेल १३ अर्ब ८५ करोड ४५ लाख, खाना पकाउने ग्यास ८ अर्ब ४६ करोड ९२ लाख, कच्चा सनफ्लावर तेल ३ अर्ब ५७ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । यस्तै प्रशोधित भटमासको तेल १७ अर्ब ९९ करोड ३४ लाख, पाम तेल १ अर्ब २९ करोड २९लाख, सनफ्लावर तेल १ अर्ब २० करोड ७५ लाख रुपैयाँको निर्यात भएको विभागले जनाएको छ ।