काठमाडौं — लामो समयदेखि बन्द रहेर केही समयअघि परीक्षण उत्पादन गरेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले लगानी गर्ने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज उद्योगको स्थलगत निरीक्षण गर्दै यसका लागि आवश्यक लगानी र सञ्चालन मोडालिटीबारे छलफल भइरहेको बताउनुभयो ।
मन्त्री यादवले नेपाली सेना र सरोकारवालाहरूसँग उद्योगको पूर्वाधार, वर्तमान अवस्था र रोजगारी सिर्जनाका विषयमा जानकारी लिनुभएको छ । साढे दुई दशकदेखि बन्द रहेको यो ऐतिहासिक उद्योगलाई सरकारले नेपाली सेनाको जिम्मामा मर्मतसम्भार गराइरहेको छ ।
गएको साउन २३ गतेदेखि दुईवटा तान सञ्चालनमा ल्याएर परीक्षण उत्पादनसमेत थालिएको छ । निरीक्षणका क्रममा उद्योगका ४ सय ८८ मध्ये अहिले १२ वटा मेसिन मात्र चल्ने अवस्थामा रहेको जानकारी गराइएको थियो ।
चीन सरकारको सहयोगमा २०३२ सालमा स्थापित यो उद्योग राजनीतिक हस्तक्षेप र फितलो व्यवस्थापनका कारण २०५७ सालदेखि पूर्ण रूपमा बन्द भएको थियो । सरकारले बन्द उद्योग सञ्चालनको तयारी गरेसँगै यसले पुनर्जीवन पाउने आशा पलाएको छ ।












