काठमाडौं – विवादास्पद भारतीय फिल्म ‘द केरला स्टोरी’ शुक्रबारदेखि भारतसहित नेपालमा पनि रिलिज भएको छ । फिल्म प्रदर्शन हुँदा साम्प्रदायिक दंगा हुन सक्ने भन्दै केही भारतीय राज्यले उच्च सुरक्षा सतर्कता अपनाएका छन् ।

तमिलनाडु, केरला लगायतका राज्यमा सुरक्षा सतर्कता अपनाइएको छ । फिल्म हल वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । केही समूहले विरोधको आह्वान गरेका नोट सामाजिक सञ्जालमा भेटिएको सरकारी अधिकारीले जनाएका छन् ।

‘केही इस्लामिक समूहले पनि प्रतिबन्ध लगाउन कतिपय जिल्लाका प्रहरीसमक्ष पुगेका छन् । तर सरकारले रोक लगाएको छैन । केरलाले पनि प्रतिबन्ध लगाएको छैन । यद्यपि हामीले सबै कानुन प्रवर्तन एजेन्सीलाई उच्च सतर्कतामा रहन अलर्ट पठाएका छौं,’ एक अधिकारीले हिन्दुस्तान टाइम्ससँग भने ।

भारतको सर्वोच्च अदालतले बुधवार द केरला स्टोरीको रिलिज रोक्न माग राख्दै दायर रिटलाई खारेज गरिदिएको छ । साथै रिट निवेदकलाई केरला उच्च अदालतमा जान निर्देशन समेत दिएको छ । यस्तै रिटहरु अदालतमा अझै पनि विचाराधीन छन् ।

यस फिल्ममा तीन जना यस्ता युवतीको कथालाई पर्दामा देखाइएको छ, जो धर्म परिवर्तन गरी आतंकवादी संगठन आईएसआईएसमा सामेल हुन्छन् । फिल्ममा केरलामा यस्ता युवतीको संख्या ३२ हजारभन्दा बढी रहेको बताइएको छ । तर यो संख्यालाई लिएर विवाद कायमै छ ।

रिलिजअघि दिल्लीको जेएनयू विश्वविद्यालयम फिल्मको प्रदर्शन राखिएको थियो, जहाँ बोल्दै निर्देशक सुदीप्तो सेनले फिल्ममा देखाइएको कुरा सत्य रहेको बताएका थिए । फिल्मलाई सेन्सर बोर्डले ए सर्टिफिकेट दिएको छ । यसमा पूर्वमुख्यमन्त्रीको अन्तर्वार्तासहित १० विवादित दृश्य काटिएको छ । फिल्ममा अदा शर्मा मुख्य भूमिकामा छिन् ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले ‘संघ परिवार’ र फिल्मका निर्मातालाई ‘साम्प्रदायिकताको विषालु बीउ छर्ने’ फिल्मलाई प्रचारको रूपमा वर्णन गरेको आरोप लगाए ।

कांग्रेस सांसद शशी थरुरले केरलामा ३२ हजार महिलालाई जबरजस्ती इस्लाम धर्म परिवर्तन गर्न बाध्य पारिएको प्रमाणित गर्न सक्ने व्यक्तिलाई एक करोड रुपैयाँ दिने प्रस्ताव गरेका छन् । तमिलनाडुका राष्ट्रिय पुरस्कार विजेता सिनेम्याटोग्राफर पीसी श्रीरामले बुधबार ट्वीटमा लेखेका छन्, ‘यो केरलाको कथा के हो ? के यो प्रसिद्ध अश्लील प्रचार फिल्म कश्मीर फाइल जस्तै हो ?’