काठमाडौं – नेपाली फिल्म ‘फूलबारी’ दोस्रो शुक्रबार पनि घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । शुक्रबार रिलिज भएका दुई विदेशी फिल्म बलिउडको ‘सेल्फी’ र जापानको ‘सोर्ड आर्ट’भन्दा विपिन कार्की स्टारर फिल्म ओपनिङ अकुपेन्सीको आधारमा अगाडि देखिएको हो ।

शुक्रबार देशव्यापी ‘फूलबारी’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रहँदा ‘सेल्फी’को अकुपेन्सी २० प्रतिशत पनि छैन । ‘सोर्ड आर्ट’ क्यूएफएक्ससहितका सीमित मल्टिप्लेक्समा रिलिज भएपनि यसको अकुपेन्सी दुई अंक पनि छैन । पहिलो साता उत्कृष्ट कमाइ गरेको फूलबारीले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो शुक्रबार पनि बक्स अफिसमा शीर्ष स्थान बनाएको हो ।

पहिलो साता रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले देशव्यापी तीन करोड हाराहारीमा ग्रस कलेक्सन गरेको विवरण वितरक गोविन्द शाहीले उपलब्ध गराएपनि निर्माताले औपचारिक रुपमा कमाइबारे सार्वजनिक गरेका छैनन् । पहिलो साता लगातार तीनवटा सार्वजनिक बिदा भएकाले पनि फिल्मले उत्कृष्ट कमाइ गरेकोमा दुईमत छैन ।