काठमाडौं – कप्तान रोहितकुमार पौडेल र करण केसीले नवौं विकेटका लागि कीर्तिमानी साझेदारीसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।
यससँगै नेपालले घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेको छ । नेपालले लिग टूमा नेपालले पहिलो पटक सिरिजको चार वटै खेल जितेको हो ।
लिग च्याम्पियन भइसकेको स्कटल्याण्डलाई २१२ मा अलआउट गरेको नेपाल सुरुवातदेखि नै दबाबमा परेको थियो ।
१३८ रन बनाउँदा ८ विकेट गुमाइसकेको थियो । तर दबावका बीच कप्तानी पारी खेलिरहेका रोहितलाई करण केसीले बलियो साथ दिएपछि नेपालले २१३ रनको लक्ष्य ४४.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
रोहितले अविजित ९५ रन बनाए । १०१ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । दशौं नम्बरमा ब्याटिङ गर्न आएर पनि रोहितसँग उत्कृष्ट साझेदारी गरेका करणले ३७ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित ३१ रन बनाए ।
यसअघि ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा व्यक्तिगत १ रनमा आउट भएका थिए । अर्का ओपनर आसिफ शेख सातौं ओभरमा १२ रन बनाएर आउट भए । त्यसपछि पनि लगातार विकेट गुमाउँदा नेपाल दबाबमा परेको थियो । ज्ञानेन्द्र मल्ल २१ र कुशल मल्ल १७ र सन्दिप जोरा १ रनमा आउट हुँदा नेपालले ६१ रनमा ५ विकेट गुमायो । त्यसपछि कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ४२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे । तर दीपेन्द्र व्यक्तिगत ७ रन र सोमपाल कामी २ रन बनाएर आउट भएका थिए ।
तर नवौं विकेटका लागि रोहित र करणले अविजित ७५ रनको साझेदारी गरेपछि नेपालले रोमाञ्चक जित निकाल्यो ।
स्कटल्याण्डका लागि मार्क वाटले ३ तथा क्रिस भ्रिग्सले २ विकेट लिए । ब्रान्डन म्याकुलेन, सफ्यान शरिफ र माइकल लिस्कले समान १ विकेट लिए ।
नेपालका कप्तान रोहित पौडेलले लगातार चौथो खेलमा पनि टस जितपछि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा सबै दश विकेट गुमाएर २१२ रन बनाएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । सन्दीपले यस शृंखलामा कूल १३ विकेट लिए । उनले यसअघिका तीन खेलमा ३-३ विकेट लिएका थिए । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए ।
ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।














