काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे ।
पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा १५५ रन बनाएको थियो । १५६ रनको विजय लक्ष्य पछ्याएको चेन्नईलाई अन्तिम एक ओभर अर्थात् ६ बलमा १७ रन चाहिएको थियो । अन्तिम ओभरको पहिलो बलमा उनदकटले प्रिटोरियसलाई आउट गरे । त्यसपछि ब्रेभो ब्याटिङमा आए र दोस्रो बलमा उनले एक रन बनाए । बाँकी चार बलमा जितका लागि अब १६ रन चाहिएको थियो । धोनीले ६, ४, २ र ४ रन बनाएर चेन्नाईलाई रोमाञ्चक जित दिलाए ।












