काठमाडौं – २८ औं क्रिटिक्स च्वाइस अवार्डको घोषणा भएको छ । नेपाली समयानुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा आयोजित समारोहमा भारतीय फिल्म ‘आरआरआर’ उत्कृष्ट विदेशी भाषी फिल्म घोषित भयो । एसएस राजामौली निर्देशित फिल्मले उत्कृष्ट गीत विधामा समेत अवार्ड जित्यो । गोल्डेन ग्लोब्सपछि ‘आरआरआर’को यो अर्को जित हो ।
गोल्डेन ग्लोब्स र क्रिटिक्स च्वाइस अवार्ड जितेपछि ‘आरआरआर’लाई ओस्कार अवार्डको बाटो सजिलो भएको छ । तर यस वर्षको क्रिटिक्स च्वाइसमा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ले उत्कृष्ट फिल्मसँगै चार विधा जित्यो । उत्कृष्ट फिल्मको घोषणा गर्दा मञ्चमा विश्व फिल्मका महान् हस्तीहरु जेम्स क्यामरुन, स्टिभन स्पिलवर्ग र बज लुहरम्यान उपस्थित थिए ।









