काठमाडौं – अभिनेत्री जल शाह यतिबेला छोरी कलशलाई लिएर नेपाल आएकी छन् । काठमाडौं टेक्नेबित्तिकै उनलाई साथीभाइ र कलाकार भेट्न भ्याइनभ्याइ छ ।
समकालीन अभिनेता रमेश उप्रेतीसँग हिमालय टीभीबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’ पुगेर उनले रमाइलो पनि गरिन् । नेपालमा झण्डै एक महिना रहने जलले उपयुक्त कथावस्तु पाए फिल्ममा कमब्याक गर्न सक्ने समेत बताइन् ।
आफू राम्रो कथावस्तुको पर्खाइमा रहेको जनाउँदै जलले वास्तविक जीवनमा आधारित फिल्ममा अभिनय गर्ने रुचि रहेको बताइन् । ‘म अभिनय भनेपछि मर्ने मान्छे हुँ । अभिनयबाहेक केही पनि आउँदैन । राम्रो सब्जेक्टको पर्खाइमा छु । वास्तविक जीवनमा आधारित फिल्म गर्ने इच्छा छ,’ उनले भनिन् ।
जलले छोरी कलशलाई पनि अभिनयमा अघि बढाउनेतर्फ सोचेकी छन् । १६ वर्षीया छोरी कलश अहिले पढाइमा व्यस्त भएकाले, शिक्षा सकिएपछि मात्र उनको इच्छाअनुसार अभिनयमा पनि अघि बढाउन सक्ने जलले बताइन् । ‘उसमा अभिनयको रुचि भयो भने फिल्ममा किन आउन नदिनु ? सबैको माया र सम्मान पाइने यो क्षेत्रमा आउन त दिन्छु तर उसले पढाइ सक्नुपर्छ । कलाकार बन्नुअघि अध्ययन महत्वपूर्ण कुरा हो । दुई वर्षयता उसमा अभिनयको छनक पनि देखिएको छ,’ उनले भनिन् ।
नेपालप्रति छोरी कलशमा प्रगाढ प्रेम देखिएको भन्दै जलले बर्सेनि छोरीलाई नेपाल घुमाउन ल्याउने बताइन् । ‘अमेरिकामा जन्मिए–हुर्किए पनि हरेक वर्ष उसलाई नेपाल ल्याउँछु । नेपालप्रति उसको माया प्रगाढ छ । नेपालप्रतिको माया र सद्भाव देखेर म चकित छु । राम्रोसँग पढेपछि देशको लागि केही गर्नुपर्छ भनेकी छु,’ छोरीबारे जलले भनिन् ।









