काठमाडौं – सांगीतिक कार्यक्रम प्रस्तुत गर्न पाकिस्तानी गायक अतिफ असलम सन् २०१२ मा काठमाडौंमा थिए । दशरथ रंगशालामा उनले दर्शकलाई नचाए ।

उनी काठमाडौं आएको १० वर्ष बित्यो । तर पनि उनी नेपाल कन्सर्टलाई लिएर नोस्टाल्जिक बनेका छन् । नेपाल टुरलाई सम्झिंदै अतिफले नेपाली फ्यानको फिडब्याक र रेस्पोन्स वास्तवमै प्रेरणादायी रहेको बताएका छन् ।

हालैका केही अन्तर्वार्तामा अतिफले भनेका छन्, ‘अहिलेसम्म म एकपटक मात्र नेपाल गएको छु । व्यक्तिको फिडब्याक र रेस्पोन्स छ, त्यो वास्तवमै प्रेरणादायी र स्मरणीय थियो ।’

जेटल्यागले आफू निकै थकित भएको बेला काठमाडौं अवतरण गरेको स्मरण गर्दै उनले भने, ‘म निकै थकित थिएँ, जेटल्याग भएको थियो । मसँग सुत्नको लागि एक घण्टा पनि थिएन । विमान अवतरण हुने बित्तिकै हामी सिधै भेन्युमा पुगेका थियौं ।’

उनले सम्झिए, ‘मैले यस्तो भीड देखें, जो खुसीले उफ्रिंदै आएका थिए । ३०/३५ हजार मान्छे भेला भएका थिए ।’

पाश्र्वगायक अतिफले उर्दूसहित हिन्दी, बंगाली र पञ्जाबी भाषामा समेत गीत गाएका छन् । ‘भोकल बेल्टिङ’ शैलीमा गाउने गायकको रुपमा उनी चर्चित छन् ।