काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा आज पनि २ घण्टा गाडी रोकेर काम हुने भएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम भैरहेको छ । यसका लागि आज बिहान ९ देखि ११ बजेसम्म २ घण्टा सबै प्रकारका गाडीको आवतजावत पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यसअघि हिजो सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गाडीको आवागमन बन्द गरेर निर्माण कार्य गरिएको थियो । तर तोकिएको अवधिमा काम सम्पन्न हुन नसकेपछि आजका लागि पनि २ घण्टा समय निर्धारण गरिएको हो ।