काठमाडौं – काठमाडौंको वसन्तपुरमा एक हप्ता अघि ठड्याइएको लिङ्गो गएराति ९ बजेर २५ मिनेटको साइतमा ढालिएको छ ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्राको लिङ्गो ढालिएसँगै आठ दिन लामो जात्रा समापन भएको छ ।
त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार क्षेत्र पुगेर गणेश, भैरव र कुमारीको हातबाट टीकाप्रसाद ग्रहण गर्नुभएको थियो । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा छ ।
हिजो दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो । यो इन्द्रजात्राको अन्तिम यात्रा हो ।
इन्द्रजात्राको अन्तिम दिन हिजो हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो । साथै जीवित देवी कुमारीको दर्शन गर्ने भक्तजनको पनि भिड लागेको थियो ।










