काठमाडौं – गएको भदौ १० गते रसुवाको भोटेकोशीमा बाढी आएपछि हिमाली जिल्ला मुस्ताङको पर्यटनमा समेत असर परेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको पर्यटकीय तथ्याङ्कअनुसार चालु वर्षको साउनको तुलनामा भदौमा मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घटेको हो ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडकमार्ग बाढी पहिरो र नदी कटानले साउनमा दर्जनौँ पटक अवरुद्ध हुँदासमेत मुस्ताङमा पर्यटकको आगमन उल्लेख रहे पनि रसुवाको बाढीपछि मुस्ताङमा पर्यटक सङ्ख्या घटेको प्रहरीको तथ्याङ्क छ । तथ्याङ्कअनुसार चालु वर्षको साउनमा भन्दा भदौ महिनामा २९ हजार २७४ पर्यटक घटेको देखाउँछ । यो अघिल्लो महिनाको भन्दा भदौमा ४७.७८ प्रतिशत पर्यटक कम हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना प्रहरी चौकी घाँसाको पर्यटक आगमनको विवरणअनुसार चालु वर्षको साउनमा आन्तरिक ३० हजार ६५५ जना, सार्क ३१ हजार ५७५ र अन्य राष्ट्रका १९३ जना गरी ६१ हजार २६३ जना पर्यटक मुस्ताङ भित्रिएका थिए ।

त्यसैगरी, चालु वर्षको भदौमा आन्तरिक १६ हजार ५०३, सार्क १५ हजार १३८ र अन्य राष्ट्रका ३४८ गरी ३१ हजार ९८९ जना पर्यटक मुस्ताङ पुगेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार साउनको तुलनामा रसुवा बाढीपछि भदौमा आन्तरिक १४ हजार १५२ ९४६.१६० प्रतिशत र सार्क पर्यटकतर्फ १६ हजार ४३७ ९५२.०५० प्रतिशत पर्यटक आगमनमा कमी आएको हो ।