काठमाडौं – तिहार बिदाको फाइदा उठाउँदै फिल्म ‘के घर के डेरा’ले घरेलु बक्स अफिसमा सन्तोषजनक कमाइ गरेको छ । अहिलेको ट्रेन्ड कायमै रहे फिल्मले भाइटीकाको दिनसम्म लगानी उठाउने पक्काजस्तै छ ।

निर्माताले औपचारिक कमाइ त सार्वजनिक गरेका छैनन्, तर पहिलो सप्ताहन्त र तिहार बिदाको कुल कमाइ जोड्दा फिल्मको कलेक्सन आकर्षक हुने अनुमान छ ।मंगलबार पनि मल्टिप्लेक्सको अकुपेन्सी झन्डै शतप्रतिशत थियो । बिहान र दिउँसोभन्दा मध्यान्ह र बेलुकीका शो हाउसफुल थिए । निर्देशक दीपेन्द्र के खनालले काठमाडौं र मोफसल टेरिटोरी दुवैमा फिल्मको कमाइ उत्साहजनक रहेको बताए ।

बुधबारको बिहानी र मध्यान्हको शोहरु भरिने क्रममा छन् । बिग मुभिजको मध्यान्हको शो ८० प्रतिशत अकुपेन्सी छ । क्यूएफएक्समा ५० प्रतिशतसम्म छ । मध्यान्हदेखि घमाइलो सुरु हुने भएकाले दर्शकीय उपस्थिति बढ्ने अनुमान छ ।