काठमाडौं – अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाएको छ । इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा तेल र पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित झण्डै ६० संस्था, व्यक्ति र पानीजहाजमाथि अमेरिकाले प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धको उद्देश्य इरानी आम्दानीका स्रोत रोक्नु तथा अमेरिकी सेना र सहयोगीमाथि आक्रमण गर्न सहयोग गर्ने सञ्जाल कमजोर पार्नु हो ।
‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत लगाइएको प्रतिबन्धले इरानको पेट्रोलियम आम्दानी र परम्परागत हतियारको प्रसारसँग सम्बन्धित गतिविधिलाई लक्षित गरेको मन्त्रालयले जनाएको छ ।
अमेरिकी कदमले इरानको तेल ढुवानी गर्ने ‘डार्क फ्लीट’ तथा पेट्रोलियम, पेट्रोलियम उत्पादन र पेट्रोकेमिकलको बिक्री तथा ढुवानीमा संलग्न अन्तर्राष्ट्रिय मध्यस्थलाई समेत समेटेको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसअघि घोषणा गर्नुभएको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ ले विश्वभर इरानका वित्तीय सम्बन्ध तोड्ने र इरानी शासनका आर्थिक स्रोत बन्द गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो प्रतिबन्धसँगै इरानको तेल निर्यात, सैन्य खरिद र अन्तर्राष्ट्रिय वित्तीय सञ्जालमाथि अमेरिकी दबाब थप बढेको छ । एजेन्सी













