काठमाडौं – सिरहाको गोलबजारमा गोली लागेर एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गमा आज टायर बालेर सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको ज्यान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

‘गोली लागेर यादवको ज्यान गएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट ज्यान गएको हो भने खुल्न सकेको छैन, उहाँले भन्नुभयो, ’यसबारे अनुसन्धान भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा आज दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । घटनापछि प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् । रासस