काठमाडौं – रियल मड्रिडका पूर्वप्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

यसअघिका प्रशिक्षक रहेका डिडियर डेसच्याम्प्सले सन् २०२६ को विश्वकपको सेमिफाइनलमा स्पेनसँगको हारपछि आफ्नो १४ वर्षे कार्यकाल टुङ्ग्याएका थिए ।

सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका जिदान सन् २०२१ मा दोस्रो पटक रियल मड्रिडको मुख्य प्रशिक्षक पद छाडेयता कुनै पनि टोलीमा आबद्ध थिएनन् ।

फ्रान्सका सर्वोत्कृष्ट खेलाडी मानिने ५४ वर्षीय उनले सन् २०३० को विश्वकप छनोट चरणसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन् ।

मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको कुरा भएको बताएका छन् ।

जिदानले १९९८ को विश्वकप फाइनलमा ब्राजिलसँगको खेलमा २ गोल गर्दै फ्रान्सलाई पहिलो पटक विश्व विजेता बनाएका थिए ।

यस्तै उनले प्रशिक्षकका रूपमा रियल म्याड्रिडलाई लगातार तीन पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जिताएर कीर्तिमान बनाएका थिए । उनको प्रशिक्षणमा रियलले २ पटक ला लिगा र २ पटक फिफा क्लब विश्वकपको उपाधि जित्यो । एजेन्सी