काठमाडौं – सुनसरीको देवानगञ्जमा अनिश्चितकालीन कर्फ्यु हटेको छ । यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश गएराति सवा १२ बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय, सुनसरीले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम तोकिएको सीमाभित्र आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यु हटेको हो । तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनुभएको छ ।

यसअघि इनरुवा नगरपालिका–३ र ६ को पूर्वी सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल) पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजमार्गको २०० मिटरको दूरीमा कर्फ्यु आदेश जारी भएको थियो । निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भिडभाड, जुलुस, सभा गर्न पाइँदैन ।

यसैबीच सुनसरीको देवानगञ्जमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

गएराति विराटनगर पुगेको टोलीले न्युरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । साथै, घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण सङ्कलन कार्य थालेको छ । समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गरिनेछ । गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ ।

देवानगञ्ज गाउँपालिका–३ को कप्तानगञ्जमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर ३० वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको थियो । घटनापछि प्रशासनले कर्फ्यु लगाएको थियो ।