काठमाडौं – शेयर कारोबारका लागि डिम्याट खाता खोल्नेको सङ्ख्या ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार अहिलेसम्म ८० लाख ९ हजार ६२३ वटा डिम्याट खाता खुलेका हुन् ।

यीमध्ये मेरो शेयर खाताका सक्रिय सङ्ख्या भने ५१ लाख ४८ हजार ८९४ छ । २९ लाख डिम्याट खाता निष्क्रिय अवस्थामा रहेका देखिन्छ । एउटै व्यक्तिले २ वा २ भन्दा धेरै खाता खोल्न पाउने भएकाले पनि सङ्ख्या उच्च देखिएको हो ।

यस्तै अहिलेसम्म डिम्याट भएका शेयर सङ्ख्या १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ रहेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । बजारमा सूचीकृत सेयर सङ्ख्या भने १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ रहेको छ ।

बाँकी ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता शेयर डिम्याट हुन बाँकी वा नष्ट भएको हुन सक्ने सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।