काठमाडौं – मोटरसाइकलमा उभिएर स्टन्ट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
पूर्वमन्त्रीसमेत रहेका गुप्तालाई ट्राफिक प्रहरी कार्यालय सिरहाले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै ५०० रुपैयाँ जरिवाना तिराएको हो । जरिवाना भने बागमती प्रदेश २०–०२५ प ५२३१ नम्बरको मोटरसाइकल चालक पिताम्बर चौधरीले तिरेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि गुप्ताले आफ्नो व्यवहारप्रति क्षमायाचनासहित कानूनी कारबाही स्वीकार गर्ने बताउनुभएको थियो ।
सांसद गुप्ताको स्टन्ट शैलीमा मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना पनि भएको छ ।
यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लङ्घन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५०० रुपैयाँ जरिवाना तिराएको थियो ।
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलाई पनि ट्राफिक नियम उल्लङ्घनको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।













