काठमाडौं – सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ ल्याएको छ ।

अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार सञ्चालन कार्यविधि–२०८३ स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो । आन्तरिक राजश्व विभागले हरेक महिनाको १ गते र १६ गते विजेताको छनोट गर्नेछ । हरेक दिनका लागि एक जना र १५ दिनमा एक जना बम्पर विजेताको छनोट स्वचालित प्रणालीमार्फत पारदर्शी रूपमा गरिने कार्यविधिमा उल्लेख छ ।

दैनिक विजेताले एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन् भने १५ दिनमा छानिने बम्पर विजेताले १० लाख रुपैयाँ पाउनेछन् । यद्यपि, आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा २५ प्रतिशत कर कट्टी गरेर मात्र बाँकी रकम भुक्तानी हुनेछ । मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा १०० रुपैयाँभन्दा धेरैको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नेपाली नागरिक यो योजनामा सहभागी हुन पाउनेछन् ।

बिल भुक्तानी गर्दा उपभोक्ताले सक्कली बिल लिनुपर्नेछ । सरकारले आन्तरिक राजश्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन उपभोक्ताका लागि आकर्षक उपहार कार्यक्रम ल्याएको हो । व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकायका बिल, टेलिफोन, विद्युत्, गाडी र हवाई टिकट जस्ता खरिदलाई भने यो उपहार कार्यक्रममा समावेश गरिने छैन ।

विजेताको घोषणा भएपछि विभागले सम्बन्धित व्यक्तिको मोबाइल वा इमेलमार्फत जानकारी गराउनेछ भने नाम सार्वजनिक रूपमा वेबसाइट र सामाजिक सञ्जालमा समेत प्रकाशन गरिनेछ । यो कार्यक्रमले उपभोक्तालाई बिल माग्न प्रोत्साहित गर्ने र कर प्रणालीमा पारदर्शिता ल्याउने अर्थ मन्त्रालयको विश्वास छ ।