काठमाडौं – खोटाङमा खहरे खोलाको बाढीले बगाउँदा २ जनाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ६ नेर्पाकी ४३ वर्षीया शान्ता राई र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका ७१ वर्षीय पर्शुराम परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार राईलाई हिजो स्थानीय छाँगे खोलाले बगाएको हो भने परियारलाई गाइखुरे खोल्सीमा आएको बाढीले बगाएको हो ।
यस्तै बितेको २४ घण्टामा देशभर विपद्का ५८ वटा घटना भएकोमा ३ जनाको ज्यान गएको छ । खोटाङमा दुई जनाको बाढीले बगाएर र दोलखाको भीमेश्वर नगरपालिका–२ का ५५ वर्षीय भक्तबहादुर थामीको सर्पले टोकेर ज्यान गएको हो ।
यस्तै २४ घण्टामा प्रहरीले १ जनाको उद्धार गरेको भने १३ जना घाइते भएका छन् । मौसम विज्ञान विभागले आज पनि देशका विभिन्न भाग भएर बग्ने नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ ।














