काठमाडौं – लगातार ७ कारोबार दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६५२ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको सूचक बढेकोमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज २५२ वटा कम्पनीको शेयर बढेकोमा १७ वटाको घटेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज स्नो रिभर्सको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर ५ दशमलव २१ प्रतिशतले घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ३ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३६२ वटा कम्पनीका ९५ लाख ४७ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड रुपैयाँमा किनबेच भएको छ ।