काठमाडौं – ब्राजिलका स्टार फरवार्ड नेयमारले फिफा विश्वकप फुटबलमा समूह चरणको दोस्रो खेल पनि गुमाउने भएका छन् । पिँडुलाको चोट पूर्णरूपमा निको नभएका कारण नेयमारले हैटीसँगको खेल पनि गुमाउने ब्राजिलियन फुटबल महासङ्घ (सीबीएफ) ले जनाएको छ ।

ब्राजिलका लागि सबैभन्दा धेरै ७९ अन्तर्राष्ट्रिय गोल गरेका ३४ वर्षीय नेयमार गएको मे ७ मा सान्तोस एफसीबाट खेल्ने क्रममा घाइते भएका थिए । चौथो पटक विश्वकप खेल्न टोलीमा परेका नेयमारले सामान्य शारीरिक अभ्यास गरिरहे पनि पूर्ण प्रशिक्षण गर्न सकेका छैनन् ।

समूह ‘सी’ मा रहेको ५ पटकको विश्व विजेता ब्राजिलले भोलि बिहान सवा ६ बजे हैटीसँग खेल्दैछ । यो खेल अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा शुरू हुनेछ । ब्राजिलले पहिलो खेलमा मोरक्कोसँग १–१ गोलको बराबरी खेलेको थियो ।