काठमाडौं — म्याग्दी नदीको तटीय क्षेत्रमा भइरहेको निरन्तर कटान, स्थानीय खोल्साहरूमा आउने बाढी तथा पहिरोका घटनाले मङ्गला गाउँपालिकामा विपद्को जोखिम बढ्दै गएको छ । विगतका ठूला प्राकृतिक विपद्, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीहरूमा बढ्दो जोखिमका कारण पालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार बर्खायाममा नदी कटान र खोल्सामा आउने बाढी प्रमुख समस्या बनेका छन् भने सुक्खा मौसममा डढेलो र आगलागीको जोखिमसमेत उच्च रहेको छ । यस क्षेत्रमा विगतमा पनि ठूला विपद् भएका थिए । विसं २०५८ मा अर्मनमा गएको पहिरोमा कम्तीमा १६ जनाको ज्यान गएको थियो भने धेरै घर, विद्यालय तथा खानेपानी संरचनामा क्षति पुगेको थियो ।
त्यसभन्दा अघि विसं २०४५ मा निस्कोटको भिर भत्किँदा म्याग्दी खोला थुनिएर आएको बाढीले व्यापक जनधनको क्षति पुर्याएको थियो । हाल छिसवाङ, कुरसिम्ला, पिपलबोट, सेराफाँट, हाडेभिर, बाबियाचौर, काँशेबगर, सिमलचौर र बान्द्रेलगायतका क्षेत्रलाई नदी कटानका उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ ।
स्थानीयवासीका अनुसार नदीको बहाव परिवर्तन हुँदै जानु र कटान गहिरिँदै जानुका कारण खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । अनुमान अनुसार म्याग्दी नदीको झण्डै १० किलोमिटर तटीय क्षेत्रमा स्थायी संरक्षण संरचना निर्माण गर्न करिब दुई अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
हाल सङ्घीय सरकारको विशेष अनुदानमा बाबियाचौर–काँशेबगर बस्ती संरक्षण योजना कार्यान्वयन भइरहेको छ । करिब ४२ लाख रुपैयाँ लागतमा म्याग्दी नदी किनारमा पक्की तथा ग्यावियन पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख रुचेन्द्र अधिकारीले जानकारी दिनुभयो । यस योजनाबाट २५० भन्दा बढी घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।












