काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ साढे ४ महिनाअघिको तुलनामा २७ प्रतिशतले घटेको छ । यसअघि सन् २०२६ को जनवरी २८ तारिखमा विश्व बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च प्रतिऔंस ५ हजार ५८९ डलर पुगेको थियो । आज प्रतिऔंस ४ चार हजार ८२ डलरमा कारोबार भइरहेको छ ।
बितेको १ महिनामा मात्रै सुनको भाउ झन्डै साढे १३ प्रतिशतले घटेको छ । तर १ वर्षअघिको तुलनामा भने अहिलेको मूल्य साढे २० प्रतिशतले धेरै हो । सुनको भाउ सन् २०२५ मा मात्रै ६० प्रतिशतभन्दा धेरैले बढेको थियो । सन् २०२६ को शुरूमा पनि अत्यधिक बढेको सुनको भाउ पछिल्लो महिना लगातार घटिरहेको छ ।
अमेरिकामा बढ्दो मुद्रास्फीतिका कारण त्यहाँको केन्द्रीय बैंक फेडरल रिभर्जले ब्याजदर उच्च राख्न सक्ने अनुमानका कारण सुनको भाउ घटेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन् ।
सामान्यतया सुनलाई सुरक्षित लगानी मानिए पनि उच्च ब्याजदर हुँदा सुनमा आकर्षण घट्ने गर्छ । तर मध्यपूर्वको भू–राजनीतिक तनाव, ऊर्जा मूल्यमा वृद्धि, विश्वव्यापी ऋणको उच्च स्तर तथा दीर्घकालीन मुद्रास्फीति जोखिमले तत्कालै धेरै घट्ने सम्भावना भने कम रहेको विश्लेषकहरू बताउँछन् ।
नेपाली बजारमा आज सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । नेपाली बजारमा गएको माघ १५ गते सुनको भाउ ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो । यो भाउ अहिलेसम्मकै उच्च हो ।












