काठमाडौं – फिफा विश्वकप २०२६ को उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कज विक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ ।
मेक्सिको जानका लागि नेम्वाङ र राई आज बिहान विमानस्थल पुगेका थिए तर अध्यागमन विभागले कालोसूचीमा रहेका कारण दुवै जनालाई फर्काएको हो ।
यसअघि हिजो एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० पुगेका थिए । तर राखेपले दुवै जनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको हो ।
आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख ११ गते एन्फा अध्यक्ष र महासचिवसहित २४ जनालाई विदेश जान रोक लगाएको थियो ।
यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै तीन महिनाका लागि निलम्बन गरेको थियो । तर राखेपले दुई महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो ।












