काठमाडौं – काठमाडौं महानगरपालिकाले ८ वटा पार्कमा मौरीको घार राखेको छ । महानगरले झन्डै ९ लाख रुपैयाँको लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरूमा राखेको हो । यो जातका मौरीहरू उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरूले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् ।

यी मौरीका घारहरू महानगरपालिकाले नमूना कार्यक्रमका रूपमा राखेको हो । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यक्रमको पहिलो चरणमा शङ्खधर उद्यान ९रत्नपार्क० मा २, वडा नम्बर ३ को रानीबारी सामुदायिक वनभित्र ४, वडा नम्बर १६ को बालाजु बाइसधारा उद्यानभित्र ५ र गुरु नानक पार्कमा २, वडा नम्बर ४ को शङ्खपार्कमा २, वडा नम्बर ६ को लाखे पोखरी पार्कमा २ वटा घार राखिएका छन् । यस्तै वडा नम्बर १४ को भुवनेश्वरी पार्कमा ४ र वडा नम्बर ३२ को मदन भण्डारी पार्कमा २ वटा घार राखिएको आयोजनाका इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले घारको सुरक्षाका लागि फलामे बार राखिएको बताउँदै पार्कमा रैथाने बिरुवा र फूल रोप्ने कामलाई बढाउने, बिरुवामा प्राकृतिक मल राख्ने, बिरुवा जोगाउन प्राकृतिक उपचार विधि अपनाउने, विषादिको प्रयोग रोक्ने योजना सुनाउनुभयो ।

वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इन्जिनियरका रूपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै सङ्कटमा पर्न सक्छन् । फूलहरूको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ ।

विश्वका झन्डै ८०५ भन्दा धेरै फूल फुल्ने बिरुवा र एक तिहाइभन्दा धेरै खाद्य बालीहरू पराग सेचनका लागि मौरीमा निर्भर हुन्छन् । मौरीको यही भूमिकाले फलफूल, बालीनाली र वनजङ्गलको विकास तथा विस्तार स्वाभाविक र स्वचालित रूपमा भइरहेको हुन्छ ।

वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि बासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको यो गुणको उपयोग गरेर काठमाडौं महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो ।