प्यूठान – प्युठानको गौमुखी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गौमुखी गाउँपालिका–लिवासे नजिक नेपाने खोलामा शुक्रबार राति भएको दुर्घटनामा अर्तुबाङका २५ वर्षीय हेमराज राना मगरको मृत्यु भएको हो ।

ठूलाबेसीबाट अर्खातर्फ जाँदै गरेको लु५६प १७७६ नम्बरको मोटरसाइकल सडकबाट करिब ३५ मिटर तल खोलामा खसेको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलसहित चालक खोलामा डुबेको अवस्थामा भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी ठुलाबेसीस्थित नरेन्द्र गायत्री आँखा अस्पतालको शाखा आँखा उपचार केन्द्रमा कार्यरत थिए ।