काठमाडौं – कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भइ कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी छन् ।

उनीहरुले गुल्मीको धुर्कोट गाउँपालिका घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ ।

कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा घिमिरेको हत्या भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।