काठमाडौं – वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक सङ्कटमा परेको भन्दै नेपाल वायुसेवा सञ्चालक सङ्घले तत्काल राहत तथा सहुलियत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

सङ्घका अनुसार कोभिड–१९ महामारी, नवयुवा आन्दोलन तथा मध्यपूर्व क्षेत्रमा चलिरहेको द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ । इन्धनको मूल्य बढेसँगै उडान खर्च उल्लेखनीय रूपमा बढेको र नेपाल आउने पर्यटकको सङ्ख्यामा कमी आएकाले सङ्कट समना गर्नुपरेको छ ।

पहिले वायुसेवा कम्पनीहरूको कुल खर्चमा इन्धनको हिस्सा ३० देखि ४० प्रतिशत रहने गरेकोमा अहिले बढेर ५५ देखि ६० प्रतिशत पुगेको छ । यसले गर्दा कम्पनीहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको र भविष्यमा सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने सङ्घले चेतावनी दिएको छ ।

सङ्घका अध्यक्ष प्रतापजङ्ग पाण्डेले वायुसेवा कम्पनी चलाउन र यात्रुलाई सर्वसुलभ दिनका लागि राहतको माग गर्नुभएको छ । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत लाग्ने ल्यान्डिङ, पार्किङ, नेभिगेशन लगायतका शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिन आग्रह गर्नुभएको छ ।

यस्तै विमानस्थल सेवा शुल्क नियमावली २०७८ संशोधन गर्नुपर्ने, आन्तरिक उडानमा लाग्दै आएको मौसमी सेवा शुल्क हटाउनुपर्ने तथा वायुसेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योगका रूपमा दिइएको वर्गीकरणअनुसार कर छुट उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।