काठमाडौं – इरान–अमेरिकाबीच युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने भएको छ । पाकिस्तानको मध्यस्थतामा वार्ता हुन लागेको हो ।

वार्ताका लागि दुई देशका प्रतिनिधि पाकिस्तान जाँदैछन् । नवनियुक्त अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नर इरानसँगको शान्ति वार्ताका लागि आज बिहान पाकिस्तान पुग्दै हुनुहुन्छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो वार्ता सफल भएमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि भ्रमणका लागि तयार रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले पनि आफूसहित विदेश मन्त्री अब्बास अराघची पाकिस्तानमा दोस्रो चरणको छलफलका लागि तयार रहेको बताउनुभएको छ । अर्थपूर्ण वार्ता र इरानले प्रमाणित रूपमा परमाणु हतियार त्याग्नुपर्ने कुरामा अमेरिकाले जोड दिएको छ ।

अमेरिका र इजरायलले गएको फेब्रुअरी २८ तारिखमा इरानमाथि संयुक्त रुपमा आक्रमण शुरू गरेका थिए, जसको प्रतिक्रिया स्वरूप इरानले हर्मुज जलमार्ग भएर हुने इन्धन ढुवानीमा प्रतिबन्ध लगाएको छ ।

मध्यपूर्वको युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ता हुने निश्चित भएसँगै कच्चा तेलको भाउ घट्ने संकेत देखिएको छ । पहिलो चरणको वार्तामा कुनै प्रगति नभएपछि कच्चा तेलको भाउ बढेको थियो । एजेन्सी