काठमाडौं – सुधन गुरुङले गृह मन्त्रालयको जिम्मोवारी सम्हालेको एक साता पूरा भएको छ ।

गत शुक्रबार गृहमन्त्रीमा नियुक्त भएका गुरुङ पहिलो एक साता निकै सक्रिय देखियो । एक साताको अवधिमा ७ उच्चपदस्थ व्यक्ति पक्राउ परेका छन् ।

गृह मन्त्रीको जिम्मेवारी सम्हालेकै भोलिपल्ट शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक पक्राउ परे । उनीहरुमाथि ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको २३ र २४ भदौको घटना छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।

उक्त आयोगको प्रतिवेदन कार्यान्वय गर्ने निर्णय सरकारले गरेलगत्तै ओली, लेखक पक्राउ परे ।

त्यसै दिन अर्का उच्च पदस्थ व्यक्ति पक्राउ परे । नेकपा एमालेका कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परे । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय बलात्कार आरोपमा समातिए ।

पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । तर मल्ल पक्राउ नपरेको भन्दै ती महिला माइतीघरमा अनसन बस्दै आएकी थिइन् ।

उनीहरु तीन जना पक्राउ परेको भोलिपल्ट १५ चैतमा कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्का पक्राउ परे । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि दीपक खड्का पक्राउ परेको बताएका थिए ।

पूर्वऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री खड्का धुम्बाराहीस्थित आफू बसेको अपार्टमेन्टबाट समातिएका थिए । उनलाई पनि सीआईबीले नै पक्राउ गरेको हो ।

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो । कतिपय सग्ला नोट प्रदर्शनकारीले लगेका तस्बिर र भिडियो पनि सार्वजनिक भएको थियो ।

खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरेको थियो । अहिले भने सीआईबीलाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

१५ चैतकै राति एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ परिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई पक्राउ गर्‍यो ।

उनले एक बालिकालाई घरमा राखेर बालश्रम शोषण गराएको आरोप लागेका थियो । ६ वर्षदेखि सांसद शर्माको घरमा काम गरेकी बालिकाले आफूमाथि कुटपिट हुने गरेके बताएकी थिइन् । त्यसपछि उनको उद्दार भएको थियो । बालिकाको उद्दारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि र प्रहरी समेत घटनास्थलमा पुगेर मुचुल्का गराएका थिए ।

नाबालिकाको अवस्था दयनीय भएको भेटिएपछि महानगरपालिकाको कार्यदलले तत्काल ती बालिकाको उद्धार गरी संरक्षण गृहमा राखेको थियो । तर सांसद शर्मा विरुद्ध भने मुद्दा चलेको थिएन । अहिले भने उनी पक्राउ परेकी छिन् ।

१७ चैतमा जेनजी आन्दोलन हुँदाका काठमाडौंका सीडीओ छविलाल रिजाल पक्राउ परे । उनलाई पनि कार्की आयोगले करबाही सिफारिस गरेको थियो ।जेनजी आन्दोलनमा दमन गरेपछि उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन भएका थिए ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा काठमाडौंका तत्कालीन सीडीओ रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् । रिजाल भने सरकारी वकिल कार्यालयबाट हाजिरी जमानीमा रिहा भएका छन् ।

हिजो १९ चैतमा मात्रै व्यवसायी दीपक भट्ट पक्राउ परे । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा उनी तानिएका हुन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानअघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।