काठमाडौं – कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ । उडेको केही बेरमै दुर्घटनामा परेको विमानमा ११४ सैनिक र चालकदलका ११ जना सवार रहेका कोलम्बियाली वायुसेनाका कमान्डर कार्लोस फेर्नान्डो सिल्भा रुएडालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विमान कोलम्बियाको दक्षिणी भेगमा रहेको प्वेर्टो लेगिसामो शहर नजिकै दुर्घटनामा परेको हो । दुर्घटनास्थल पेरुको सीमा नजिकै पर्छ ।

दुर्घटनास्थलमा पुगेका आपत्कालीन सेवाका उद्धारकर्मीहरूले भग्नावशेषमा जीवित व्यक्तिहरू छन् कि भन्ने आशामा खोजिरहेका छन् । दुर्घटनाको कारण पत्ता लगाउन छानबिन शुरू भएको खबरमा उल्लेख छ ।
कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले दुर्घटनापछि विमानमा आगो लाग्दा त्यसबाट ढुवानी गर्न लागिएको गोलीगट्ठाहरू पड्किएको बताउनुभएको छ ।

यसअघि जनावरी महिनामा उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै १५ जनाको ज्यान गएको थियो । ऐजेन्सी