काठमाडैं – इरानको दक्षिणी भागमा रहेको एउटा विद्यालयमा अमेरिका तथा इजरायलले गरेको आक्रमणमा मारिएका विद्यार्थी र कर्मचारीको अन्तिम संस्कार गरिएको इरानी अधिकारीहरूले जनाएका छन् । इरानको मिनाब सहरको एउटा कन्या विद्यालयमा गएको शनिवार भएको आक्रमणमा १ सय ६० जनाभन्दा धेरैको ज्यान गएको थियो ।

घटना अमेरिका र इजरायलले इरानी सैन्य अखडा र नेतृत्वलाई निसाना बनाएर व्यापक हमला गर्ने क्रममा भएको थियो । विद्यालय इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) को एउटा शिविरनजिकै थियो । अमेरिकी सेनाले यो घटनाबारे आएका विवरणको अध्ययन गरिरहेको जनाएको छ ।

इजरायली सेनाले भने त्यस क्षेत्रमा कुनै कारबाही भएको बारेमा आफूलाई थाहा नभएको जनाएको छ । विद्यालयमा शनिवार बिहान तीनवटा क्षेप्यास्त्र प्रहार भएको इरानी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकाको ह्यूमन राइट्स एक्टिभिस्टस् न्यूज एजेन्सी (एचआरएएनए) ले इरानमा युद्ध शुरु भएयता झण्डै ११ सय सर्वसाधारणको ज्यान गएको उल्लेख गरेको छ । ती मध्ये १ सय ८१ जना १० वर्षभन्दा कम उमेरका बालबालिका रहेका छन् । एक सय बालबालिकासहित घाइते हुने सर्वसाधारणको सङ्ख्या ५ हजार ४ सय २ पुगेको एचआरएएनएले जनाएको छ । एजेन्सी