म्याग्दी – म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर ३० जना युवाले मासिक ४० हजार रुपैयाँभन्दा धेरै आम्दानी गरिरहेका छन् ।
अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको एक माध्यम बनेको बेनीबजारका व्यवसायी शिव रेग्मीले बताउनुभयो । अटो रिक्सा चलाएर राम्रै आम्दानी हुने गरेको चालक बेनी नगरपालिका–२ बगरफाँटका सुमन रिजाल बताउनुहुन्छ । उहाँले अटोरिक्सा चलाएर मासिक ४० देखि ४५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।
दिनमा दुई हजारसम्म कमाईं भए पनि सबै खर्च कटाएर हजाररपन्ध्र सय रुपैयाँ बचत हुने हुँदा सन्तुष्ट रहेको अर्का चालक बेनी नगरपालिका–२ फापरखेतका कालु सापकोटाले बताउनुभयो ।
बेनी नगरपालिकाले नगरपालिका भित्रका १० वटा वडाभित्र सञ्चालन गर्न पाउनेगरी अनुदानमा समेत अटोरिक्सा वितरण गरेपछि अटो चल्न शुरू गरेको हो । पहाडी भूगोल भए पनि कालोपत्र भएको सडकभित्र अटोरिक्सा सञ्चालन भएका छन् । बेनी नगरपालिका क्षेत्रभित्र ३० वटा अटो सञ्चालन हुने गरेको बेनी नगरपालिकाले जनाएको छ । रासस











