काठमाडौं – गृह मन्त्रालयले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ४ की एक युवतीले नागरिकता नपाएकै कारण आत्महत्या गरेको भनिएको घटना छानबिनका लागि समिति गठन गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सचिवस्तरीय निर्णय अनुसार समिति गठन गर्न निर्देशन दिएपछि गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानबिन समिति गठन गरेको गृह मन्त्रालयले जनाएको छ । समितिमा गृह मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र अर्का एक जना सदस्य रहने छन् ।
समितिलाई घटनाको निष्पक्ष र सत्यरतथ्य जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइएको छ । यसअघि प्रधानमन्त्री कार्कीले घटना छानबिनका लागि गृहमन्त्री अर्याललाई निर्देशन दिनुभएको थियो ।










